काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशका अधिकांश तहमा संगठनात्मक अधिवेशन सम्पन्न गरेको जनाएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ६४ जिल्लासहित चार प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया टुंगिएको छ। उनले पार्टीको संगठन विस्तार र नेतृत्व चयन अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताए।
रास्वपाका अनुसार देशभरका चार हजार ३६३ वडा र ६०९ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। यद्यपि केही जिल्लामा आन्तरिक विवाद तथा विधानसम्बन्धी विषयका कारण अधिवेशन स्थगित वा बदर भएको अवस्था रहेको जनाएको छ।
अधिवेशन हुन बाँकी जिल्लामा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्।
त्यस्तै अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा प्रक्रिया रोकिएको पार्टीले जनाएको छ।
प्रदेशस्तरमा सात प्रदेशमध्ये चार प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशको अधिवेशन स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरेको छ।






