काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेटमाथि प्रधानमन्त्री बालेन्द्र शाह स्वयं विश्वस्त नरहेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्री शाहले देश निर्माणका लागि घोषणा गरेको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नपर्नु नै बजेटप्रति प्रधानमन्त्रीको अविश्वासको संकेत भएको दाबी गरे।
उनले अर्थमन्त्री वाग्लेको बजेटले देश निर्माणमा योगदान दिन सक्नेमा प्रधानमन्त्री स्वयं विश्वस्त नभएकाले देश बनाउने टोलीमा अर्थमन्त्रीलाई समावेश नगरिएको टिप्पणी गरे।
सांसद महरले बजेट विनियोजनमा न्यायोचित वितरण नभएको आरोप लगाउँदै अर्थमन्त्रीले पिछडिएका तथा दुर्गम क्षेत्रलाई बेवास्ता गरेको बताए। उनले आवश्यक पूर्वाधार र सडक सञ्जालको अभाव झेलिरहेका जिल्लाहरूलाई बजेटबाट वञ्चित गरिएको उल्लेख गरे।
उनका अनुसार अर्थमन्त्रीले आफ्नो जिल्ला तथा आफू निकट क्षेत्रहरूमा बढी बजेट केन्द्रित गरेका छन्, जसले बजेटलाई विभेदकारी बनाएको छ।
महरले शिक्षा, स्वास्थ्य र कृषि जस्ता नागरिकका आधारभूत आवश्यकतासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रलाई बजेटमा पर्याप्त प्राथमिकता नदिएको आरोप पनि लगाए।
उनले अर्थमन्त्री वाग्लेले आफू अध्ययन गरेको बुढानिलकण्ठ क्षेत्रमा शिक्षाका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै देशभरका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि भने कुनै ठोस कार्यक्रम नल्याएको बताए।
“बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने विषयभन्दा कर लगाउने कुरालाई बढी प्राथमिकता दिइएको छ,” सांसद महरले संसदमा भने।
उनले सरकारले ल्याएको बजेट समावेशी, सन्तुलित र आवश्यकतामा आधारित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन्।






