काठमाडौं । स्ट्रेट अफ होर्मुजको जलमार्ग नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकाले आक्रमण गर्दा दुईजनाको मृत्यु भएको छ ।

एमटी सेटेबेलोमा भएको आक्रमणमा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले यसको पुष्टि गर्दै अहिलेसम्म दुईजनाको शव निकालिएको बताए।

ADVERTISEMENT

यसअघि विदेश मन्त्रालयले जहाजमा सवार २४ भारतीयमध्ये २१ जनालाई सकुशल उद्धार गरिएको बताएको थियो । तीनजना भारतीय बेपत्ता रहेको जनाइएको थियो।

भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवले जहाजसँग सम्पर्क स्थापित हुन नसकेको जानकारी दिएका छन् । उनका अनुसार प्राप्त विवरणअनुसार दुई भारतीय नाविकको मृत्यु भइसकेको छ भने जहाजका प्रमुख इन्जिनियर एक भारतीय नागरिक अझै सम्पर्कविहीन छन् ।

ADVERTISEMENT

मृत्यु हुनेमा डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसियाको पहिचान भएको छ । प्रमुख इन्जिनियर पटनाला सुरेशको खोजी कार्य जारी रहेको जनाइएको छ ।

यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिक रहेको जानकारी अमेरिकी पक्षलाई रहेको दाबी गरेका छन् । उनले जहाजले कुनै निर्देशन पालना नगरेको भए नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै आक्रमण गरिएको बताएका छन् ।