मान्म (कालीकोट) । अविरल वर्षाका कारण दुई दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

मङ्गलबार र बुधबार परेको लगातार वर्षाले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ स्थित खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार सडकमा खसेको पहिरो र लेदो हटाउने कार्य सम्पन्न भएपछि सुर्खेत–हुम्ला सडकखण्डअन्तर्गतको उक्त भागमा सवारी आवागमन एकतर्फी रूपमा सञ्चालन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले सडकको माथिल्लो भिरालो क्षेत्रबाट अझै ढुङ्गा खस्ने जोखिम रहेको बताए। उनले सडक साँघुरो भएको र धेरै स्थानमा एकतर्फी सञ्चालन भइरहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन यात्रु तथा सवारी चालकलाई आग्रह गरेका छन्।

ADVERTISEMENT

वर्षायाम सुरु भएसँगै कर्णाली करिडोरमा पहिरो र सडक अवरोधको समस्या दोहोरिने भएकाले स्थानीय प्रशासनले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।