काठमाडौं। देशभरको मौसममा आज आंशिकदेखि सामान्य बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र केही तराई क्षेत्रहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ।

ADVERTISEMENT

महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

ADVERTISEMENT

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तापक्रम बढेर तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा तथा कर्णालीसहित सबै प्रदेशका हिमाली भूभागमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

मौसमविद्हरूले वर्षा, चट्याङ तथा स्थानीय हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन आग्रह गरेका छन्।