काठमाडौं । अबदेखि नयाँ र पुराना डिम्याट (हितग्राही) खाताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । नेपाली सेयर बजारमा नयाँ डिम्याट खाता खोल्न र पुराना खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सम्पूर्ण निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो। सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो।

यसअघि सिडिएससीले गत फागुन १९ गते पत्राचार गर्दै ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई हितग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न आग्रह गरेको थियो। सोही तयारीका आधारमा अब यस व्यवस्थालाई पूर्ण रूपमा अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउन लागिएको पत्रमा उल्लेख छ।

ADVERTISEMENT

सिडिएससीका वरिष्ठ आइटी अधिकृत किशोरप्रसाद भट्टले आइतबार जारी गरेको सूचनामा नयाँ खाता खोल्दा वा पुराना खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य समावेश गराउन सबै निक्षेप सदस्यहरूलाई निर्देशन दिइएको छ। यो निर्णयबारे नेपाल धितोपत्र बोर्डलाई समेत बोधार्थ जानकारी गराइएको छ।

ADVERTISEMENT

नयाँ व्यवस्था लागू भएसँगै अब सेयर कारोबारका लागि डिम्याट खाता सञ्चालन गर्ने लगानीकर्ताहरूले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा डिम्याट खातासँग आबद्ध गर्नुपर्नेछ।

ADVERTISEMENT