काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि ६ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चानचुने कुरा नभएको बताएका छन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमाथि केन्द्रीयस्तरको समीक्षा कार्यशालाको उद्घाटन सत्रमा शुक्रबार कार्यवाहक प्रमुख भण्डारीले निर्वाचनको मिति घोषणापछि निर्वाचन होला र ? भन्ने संशय र अनेक चुनौतीका बीच नेपाल सरकार, आयोग, राजनीतिक दल, सम्बद्ध पक्ष र आमजनताको सहभागिता निर्वाचन सम्पन्न भएको स्पष्ट गरे ।

ADVERTISEMENT

‘विद्रोहपछि तोकिएको ६ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुुनु चानचुने कुरा होइन । यस निर्वाचनलाई विश्व समुदायले पनि सूक्ष्मरुपमा हेरिरहेको छ’, भण्डारीले भने, ‘यो सफलता निर्वाचन आयोगको एक्लैको प्रयासले मिलोको होइन । निर्वाचनको कसैले कसैलाई निषेध गर्नुहुँदैन भन्ने मान्यतालाई बोकेर हामीले सुरुदेखि नै राजनीतिक संवादलाई महत्व दिऔँ । सरकारको समेत सहयोगमा विद्रोही पक्ष, पुरानो राजनीतिक समूह, नवोदित राजनीतिक समूहलाई एकै टेबुलमा राखेर संवाद गराउन र हार्दिकता बढाउन सफल भयौँ ।’

कार्यवाहक आयुक्त भण्डारीले आन्दोलनबाट भड्किएको अनुशासनलाई कायम राख्न निर्वाचनबाहेक अर्को विकल्प नभएकाले चुनौतीका बीच निर्वाचन गराउन आफूहरू अहोरात्र लागेको स्मरण गर्दै निर्वाचन मितव्ययी र तुलनात्मक व्यवस्थित भएको बताए ।

ADVERTISEMENT

उनले समीक्षा कार्यशालाबाट प्राप्त हुने सुझावका आधारमा आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउने, मतदातस्थल र केन्द्रलाई थप पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत बढाउने, कानुनी सुधार गर्ने र आयोगलाई थप भौतिक पूर्वाधारयुक्त बनाउने कार्ययोजनामा काम गरिने बताए ।