काठमाडौं । निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले प्रतिकूल परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन्।
निर्वाचनका लागि विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीहरूको मंगलबार आयोजित बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूको योगदानको प्रशंसा गरेका हुन्।
भण्डारीले भदौ २७ गते रामचन्द्र पौडेल ले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न व्यापक रूपमा उठेको स्मरण गरे। उनले भदौ २३ र २४ गते भएका घटनापछि सुरक्षाको अवस्था निकै पेचिलो बनेको बताए।
“निर्वाचन घोषणा भएको एक महिनासम्म पनि राजनीतिक दलहरू एकै ठाउँमा बस्न सक्ने अवस्था थिएन,” उनले भने, “आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद सुरु गराएको थियो।”
हाल निर्वाचनको सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरी परिणाम सार्वजनिक गर्ने चरणमा पुगेको उनले जानकारी दिए। साथै निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेको पनि उनले बताए।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउत ले विभिन्न निकायबाट काजमा आएका कर्मचारीहरूको ‘टिमवर्क’ का कारण निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सम्भव भएको बताए।
उनका अनुसार निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारीहरूको सक्रियताका कारण देशभर रहेका २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान केन्द्रमा कुनै ठूलो समस्या बिना निर्वाचन सम्पन्न भएको हो।
आयोगका प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार निर्वाचनका लागि विभिन्न निकायबाट १४१ जना कर्मचारी आयोगमा काजमा आएर काम गरेका थिए। निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै ती कर्मचारीहरूको काज फिर्ता प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।






