दुबई । बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएको छ । इरान र अमेरिकाबीच सैन्य तनाव बढेकै बेला कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो ।
ड्रोन आक्रमणपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ । यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ ।
कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलाजिज अल–ओतैबीका अनुसार धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको बताए ।
आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्ति घाइते भएको पुष्टि गरिएको छ । इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको विमानस्थल हालै जुन १ मा मात्र पुनः सञ्चालनमा आएको थियो ।
यो आक्रमण इरान र अमेरिकाबीच पछिल्ला दिनहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू आदानप्रदान भइरहेको समयमा भएको हो । मंगलबार राति अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेप्यास्त्र आक्रमणको जवाफस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो । अमेरिकी पक्षका अनुसार कुवेततर्फ प्रक्षेपित दुई मिसाइल बीचमै नष्ट भएका थिए भने बहराइनतर्फ लक्षित क्षेप्यास्त्रहरू रोकिएका थिए ।

अमेरिकी सेन्ट्रल कमान्डले कुवेतमा अमेरिकी सेनालाई लक्षित गर्दै आएका धेरै ड्रोनहरू खसालिएको जनाएको छ । त्यसैगरी इरानको इस्लामिक रिभोलुसनरी गार्डले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका स्थानलाई लक्षित गरेको दाबी गरेको छ, यद्यपि कुवेतको नाम प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन ।
इरानी पक्षले अमेरिकी नाकाबन्दीबीच तेल ट्यांकरमाथि गरिएको कथित आक्रमणको प्रतिक्रियामा यी कारबाही गरिएको बताएको छ । गार्डद्वारा जारी विज्ञप्तिमा पहिले चेतावनी दिइएको भए पनि आक्रमण भएमा कडा प्रतिक्रिया दिइने बताइएको छ ।
यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज जलघाँटी नजिकै इरानी सैन्य सञ्चार तथा नियन्त्रण केन्द्रमा जवाफी कारबाही गरिएको जनाएको छ । दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राख्दा क्षेत्रीय तनाव थप चुलिएको देखिएको छ ।
इरानी समाचार एजेन्सीहरूले मध्यस्थकर्ताहरूसँग चलिरहेको वार्ता रोकिएको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दाबीलाई अस्वीकार गर्दै वार्ता निरन्तर जारी रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत इरानसँगको वार्ता विभिन्न चरणमा अघि बढिरहेको र अन्तिम परिणाम अझै अनिश्चित रहेको उल्लेख गरेका छन् ।
कुवेत विमानस्थलमा भएको पछिल्लो आक्रमणले मध्यपूर्वमा चलिरहेको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढाएको छ । यसले नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाब सिर्जना गरेको छ ।








