काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेका लामिछानेले बुधबार दिउँसो नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच नेपाल र भारतको सम्बन्धबारे छलफल भएको छ ।
मोदीले लामिछानेलाई भेटन पाउँदा खुसी लागेको बताए । ‘साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु,’ भेटपछि मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरूबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।
भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेश मन्त्री डा एस जयशंकरसमेत उपस्थित थिए । रविले मंगलबार भाजपा अध्यक्ष नवीन, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।









