काठमाडौं । मधेश प्रदेशले शुक्रबार नयाँ मुख्यमन्त्री पाउँदैछ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दिएको ४८ घण्टाको समय शुक्रबार साँझ ५ बजे सकिँदै छ । जसकारण सातदलीय गठबन्धनले जसरी भए पनि आजै मुख्यमन्त्रीमा सहमति गर्नैपर्ने बाध्यता छ ।

कांग्रेस र लोसपाले अडान नछाड्दा सातदलीय गठबन्धनले मधेश प्रदेशमा मुख्यमन्त्रीका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

२३ दिनअघि मुख्यमन्त्री बनेका एमाले नेता सरोजकुमार यादवले विश्वासको मत पाउने अवस्था नहुँदा बुधबार पदबाट राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति नयाँ मुख्यमन्त्रीका लागि साझा उम्मेदवारको खोजीमा छन् ।

ADVERTISEMENT

तर, प्रदेश सभाको दोस्रो ठुलो दल कांग्रेस र पाँचौँ दल लोसपाले मुख्यमन्त्रीमा दाबी नछाडेपछि सहमति जुट्न नसकेको हो । बिहीबार प्रदेश सभा सचिवालयमा साढे आठ घण्टा सातदलीय बैठक बसेको थियो ।

ADVERTISEMENT

यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (२) लाई बाइपास गर्दै १६८ (३) बमोजिम संसद्को सबैभन्दा ठुलो दल एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेपछि सात दलको मोर्चाबन्दी हुँदा कांग्रेसलाई मुख्यमन्त्री दिने अनौपचारिक सहमति भएको नेताहरूको दाबी छ ।

ADVERTISEMENT

यसअघि विश्वासको मत नपाउने निश्चित भएपछि लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले २२ कात्तिकमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । अहिले उनले फेरि आफ्नो लागि अर्को अवसर दिनुपर्ने दाबी अघि सारेको गठबन्धनका नेताहरूले बताएका छन् ।

गठबन्धनमा कांग्रेसले ठुलो दल भएकाले र विगतमा मधेशकेन्द्रित दलहरूबाट पालैपालो मुख्यमन्त्री भइसकेको भन्दै यसपटक आफूले पाउनुपर्ने तर्क राखेको छ । सो प्रस्तावमा अन्य दलहरू सकारात्मक छन् । तर लोसपा सहमत हुन सकेको छैन ।

दुवै दललाई आपसी सहमतिका लागि अन्य दलहरूले समय दिएका छन् । कांग्रेसले दलका नेता कृष्ण यादवलाई अघि सारेको छ । कांग्रेसका यादव र लोसपाका सोनलमध्ये एक मुख्यमन्त्री बन्ने निश्चित जस्तै रहेको नेताहरुको भनाइ छ ।