काठमाडौं । नेपालको राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२–८३ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
मुलुकको समग्र राष्ट्रिय आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ। सात प्रदेशमध्ये बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ।
बागमती प्रदेशले ५.४० प्रतिशत र गण्डकी प्रदेशले ५.०१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ। मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा न्यून १.३१ प्रतिशतमा खुम्चिने प्रारम्भिक अनुमान छ। सुदूरपश्चिममा ३.२८ प्रतिशत, कोशीमा ३.१३ प्रतिशत, कर्णालीमा २.९४ प्रतिशत र लुम्बिनीमा २.८७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ।
मुलुकको औसत प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। तर, प्रदेशगत आधारमा हेर्दा यसमा ठूलो विषमता देखिएको छ। बागमती र गण्डकी प्रदेशबाहेक अन्य पाँचै प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसतभन्दा कम छ।
बागमती : २,६४४ अमेरिकी डलर
गण्डकी : १,६५१ अमेरिकी डलर
कोशी : १,४१० अमेरिकी डलर
लुम्बिनी : १,२०८ अमेरिकी डलर
सुदूरपश्चिम : १,१७० अमेरिकी डलर
कर्णाली : १,१०८ अमेरिकी डलर
मधेश : ९३४ अमेरिकी डलर
नेपालको अर्थतन्त्रमा अझै पनि कृषिको भूमिका महत्वपूर्ण छ। तथ्यांकअनुसार बागमती प्रदेशबाहेक अन्य सबै ६ वटा प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी २१.७ प्रतिशत छ। यो प्रदेश सेवा र व्यापारको केन्द्रका रूपमा विकास भएको देखिन्छ।
मधेश प्रदेशमा कृषिको योगदान ३४.९७ प्रतिशत छ। कोशी र लुम्बिनी प्रदेशहरूमा पनि कृषिको योगदान ३० प्रतिशतभन्दा माथि छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको क्षेत्र दोस्रो ठूलो हिस्साका रूपमा देखिएको छ।
कोशी प्रदेश : १० खर्ब ४३ अर्बको अर्थतन्त्र भएको कोशीमा कृषिको योगदान ३२.५ प्रतिशत छ।
मधेश प्रदेश : ८ खर्ब ६३ अर्बको अर्थतन्त्र भएको मधेशमा कृषिको हिस्सा सबैभन्दा बढी ३४.९७ प्रतिशत भए तापनि यसको उत्पादन खुम्चिँदा समग्र प्रदेशकै वृद्धिदर प्रभावित भएको छ।
बागमती प्रदेश : २४ खर्ब २३ अर्बको विशाल अर्थतन्त्र भएको यस प्रदेशमा व्यापारको वर्चस्व छ।
गण्डकी प्रदेश : ५ खर्ब ९३ अर्बको अर्थतन्त्र भएको गण्डकीमा कृषि २५.७ प्रतिशत र सार्वजनिक प्रशासनको राम्रो हिस्सा छ।
लुम्बिनी प्रदेश : ९ खर्ब ३७ अर्बको अर्थतन्त्र भएको लुम्बिनीमा कृषिको योगदान २९.८ प्रतिशत छ।
कर्णाली प्रदेश : २ खर्ब ७७ अर्बको सानो अर्थतन्त्र भए तापनि कर्णालीमा वित्तीय तथा बीमा सेवाको वृद्धिदर ६.५४ प्रतिशत क छ।
सुदूरपश्चिम प्रदेश : ४ खर्ब ६४ अर्बको अर्थतन्त्रमा कृषिको हिस्सा ३३.४ प्रतिशत छ।






