काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।

आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको गणनाको तयारीअन्तर्गत गणकहरुलाई तालिम दिन लागिएको हो ।

ADVERTISEMENT

राष्ट्रिय तथ्यांक कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले देशभर रहेका ८४ कार्यालयबाट एकैसाथ तालिम सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार आर्थिक गणनाका लागि आवश्यक गणकको छनोट प्रक्रिया पूरा भइसकेको र सम्बन्धित स्थानीय तहमा आवश्यक पत्राचार गरिसकिएको छ । तालिम कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ र तालिम सम्पन्न भएपछि गणकहरू देशभर आफ्नो जिम्मेवारीअनुसार खटिने छन् ।

ADVERTISEMENT

‘बिहीबारदेखि देशभरका ८४ कार्यालयबाट पाँचदिने तालिम सुरु हुनेछ र तालिम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू देशभर आर्थिक गणनाको काममा खटिनेछन्,’ उनले भने । यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ (वैशाख–जेठ) मा सञ्चालन भएको थियो ।