काठमाडौं । चालु आर्थिक वर्ष २०८१्÷८२ तेस्रो त्रैमासमा अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव २०८०÷८१ को सोही त्रैमासको तुलनामा अर्थतन्त्रमा यस्तो विस्तार हुने अनुमान गरिएको हो । यो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक हुने अनुमान छ । यो अवधिमा निर्माण क्षेत्रले गति लिएको देखिएको छ ।
कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले विद्युत् उत्पादन तथा वितरणमा वृद्धि, वित्तीय तथा बीमा क्षेत्रमा भएको वृद्धि, खानी तथा खनीज पदार्थको उत्खनन्मा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा सकारात्मक भूमिका खेलेको जानकारी दिनुभयो ।
कार्यालयले अर्थतन्त्रका १८ औद्योगिक क्षेत्रको गणना गर्दै आएको छ । यो अवधिमा शिक्षा, पानी तथा फोहोर व्यवस्थापन, आवास तथा भोजन क्षेत्रमा भने औसतमात्र वृद्धि देखिएको छ ।
कार्यालयले जीडीपीको वृद्धिदरका लागि गणना गर्ने १८ औद्योगिक क्षेत्रमध्ये विद्युत् उत्पादन तथा वितरणको सबैभन्दा धेरै १२.५ प्रतिशतले वृद्धि भएको छ । निर्माण क्षेत्र ६.९ प्रतिशतले बढेको छ । खानी तथा खनिज पदार्थ उत्खनन् र वित्तीय तथा बीमा क्षेत्र ६.७ प्रतिशतले वृद्धि भएको छ ।
सूचना तथा सञ्चार क्षेत्र ६.६ प्रतिशत, यातायात तथा भण्डारण ६.३ र औद्योगिक उत्पादन ६.२ प्रतिशतले विस्तार भएको अनुमान कार्यालयको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषिको वृद्धिदर ३.६ प्रतिशत रहने देखिएको छ ।
हिउँदे बाली, तरकारी बाली र केही नगदेबाली उत्पादन यस वर्ष बढेको लामिछानेले जानकारी दिए । अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.६ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
उत्पादनमूलक उद्योगको वृद्धिदर ६.२, शिक्षा २.३, पानी आपूर्ति २.४ र आवास तथा भोजन क्षेत्रको वृद्धिदर २.५ प्रतिशतले बिस्तार हुने देखिन्छ ।
कार्यालयका अनुसार दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासको आर्थिक वृद्धिदरको अवस्था हेर्दा १८ औद्योगिक क्षेत्रमध्ये १५ वटाको विस्तार भएको छ । तीन क्षेत्र घटेको छ । यो अवधिमा विद्युत् तथा ग्यास उत्पादन सबैभन्दा बढी ५.५ प्रतिशतले विस्तार हुने अनुमान छ । सेवा क्षेत्रमा २.५ प्रतिशतको वृद्धि हुने देखिएको छ ।
लु आव २०८१÷८२ मा वार्षिक आर्थिक वृद्धिदर भने ४. ६१ प्रतिशत हुने कार्यालयको अनुमान छ । गत वैशाखमा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांक अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।
अघिल्लो आव २०८०÷८१ मा ३.६७ प्रतिशतले अर्थतन्त्र विस्तार भएको थियो । २०७९÷८० मा भने १.९८ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको कार्यालयको तथ्यांक छ ।







