काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ मा स्कटल्याण्डलाई १९४ रनमा अल आउट गरेको छ । सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रनमा समेटियो ।

स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशी चम्किएपछि स्कटल्यान्ड २०० रनमुनिमै समेटिएको हो । सन्दीपले अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको सात वर्ष पुरानो सबैभन्दा कम खेलमा १५० विकेट पूराको कीर्तिमान तोडेको छन् ।

ADVERTISEMENT

सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । स्कटल्याण्डसँग अहिले भइरहेको खेलमा ब्राण्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करियरमा आफ्नो १५० विकेट पूरा गरेका हुन् ।

स्कटल्याण्डका लागि ब्राण्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७३ रन बनाए । उनले ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरे । मुन्से ३१ बलमा २१ रनमा आउट भए ।

माइकल इङ्ग्लिस ७२ बलमा ५१ रन बनाएर आउट भए । मार्क वाट ३४ बलमा २० रनमा आउट भए । नेपालका लागि राजवंशीले चार, सन्दीपले ३ तथा नन्दन यादव, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।