काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनको विषयमा जेनजीका अगुवाहरूसँग संवाद गर्ने भएका छन्।

कांग्रेसले गठन गरेको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्ने समितिले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको हो।

ADVERTISEMENT

संवाद कार्यक्रमका लागि कांग्रेसले समाजका विभिन्न क्षेत्रमा सक्रिय १८ जना जेनजी पुस्ताका प्रतिनिधिलाई औपचारिक निमन्त्रणापत्र पठाएको छ। कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठलगायत विज्ञहरू पनि सहभागी हुने तय भएको छ।

सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गरिरहेका बेला कांग्रेसले आफ्नोतर्फबाट छुट्टै गृहकार्य अघि बढाएको छ। पार्टीले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा एउटा कार्यदल गठन गरी संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिरहेको छ।

ADVERTISEMENT

वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सम्मिलित ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ ले यसअघि नै दुई चरणको गहन छलफल सम्पन्न गरिसकेको छ।

पहिलो चरणमा कानुनविद् र संविधानविद्हरूसँग परामर्श सकिएको छ भने आजको कार्यक्रम तेस्रो चरणको संवाद हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित सरकारी संविधान संशोधन बहसपत्र तयारी छलफलमा कांग्रेस सहभागी भएको छैन।

सरकारी कार्यदलले शुक्रबार जेनजी अगुवाहरूलाई बोलाउँदा युवाहरूले त्यो छलफललाई पूर्णरूपमा बहिष्कार गरेका थिए। सरकारी कार्यदलको संवाद बहिष्कार गरेका जेनजी अभियन्ताहरू आज भने कांग्रेससँग आफ्नो धारणा राख्न उपस्थित हुँदैछन्।