काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनीहरूले जनताको अधिकारलाई संरक्षण गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराए ।
रास्वपा सांसद विश्वराज पोखरेलले ओखलढुंगा जिल्लामा प्रसारण लाइनबाट करेन्ट लागी घाइते भए पनि उपचार नपाएकाले उपचारको व्यवस्थाका साथै प्रसारण लाइन दुर्घटना नहुने गरी व्यवस्थापन गर्न माग गरे ।
सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको सडक जीर्ण भएकाले छिटो निर्माण गर्न माग गरे । सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्ज जीवनकै कठिन अवस्थाबाट गुज्रिएको, वीरगञ्जको सडक भत्किएको, हेटौँडामा २५ गज, वीरगञ्जमा २५ मिटरको सडक मापदण्ड बनाउँदा एउटै राजमार्गमा दोहोरो हुनेगरी नीतिगत र कानुनी व्यवस्था गर्न नहुने बताए ।
सांसद भरतबहादुर स्वाँरले अछामको विकासमा कञ्जुस्याइँ गरिएको जिल्ला अस्पताललाई १०० शय्याको बनाइनुपर्ने माग गरे । सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा दिन माग गरे । जिल्लामा बाँदर तथा बँदेलका कारण कृषक बाली उठाउन नपाउने भएकाले नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण सम्पन्न नभएकाले वर्षायाम अगावै वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो । सांसद भूमिका श्रेष्ठले लैंगिक तथा यौनिक अल्पसङ्ख्यकका हकअधिकारलाई उच्च प्राथमिकता दिएको आगामी बजेट निर्माण गरिनुपर्नेमा जोड दिइन् ।
सांसद मञ्जु भुसालले बुटवलबाट प्रादेशिक राजधानी सारिएपछि बजार सुनसान भएको, बुटवल क्षेत्रका जनताको सुरक्षित बसोबास निश्चित गरी बस्ती व्यवस्थित बनाउने काम अघि बढाउन माग गरिन् ।
सांसद मनदकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रमको बुँदा नं ५८ मा गरिएको अपांगका लागि गरिएको व्यवस्था उपयुक्त नभएकाले विशेष व्यवस्था गर्न माग गरे । सांसद मनमाया विकले सुकुमवासी समस्याका विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट अनुगमनमा जाँदा विद्यार्थीले पढ्न नपाएको, डोजरले घर भत्काएको दृश्यले मानसिक समस्यामा रहेकाले समस्या समाधान गर्न माग गरिन् ।
सांसद मनिष खनालले ३५ वर्षदेखि लालपुर्जाको राजनीति अब बन्द हुनुपर्ने बताउँदै वास्तविक सुकुमवासी समस्या समाधान गर्न प्राधिकरण गठन गरिनुपर्ने बताए । सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे ।
सांसद मोहनलाल आचार्यले प्राचीन तिलौराकोट रहेको कपिलवस्तुको पर्यटकीय विकास गर्नेगरी बजेट ल्याउन माग गरे । सांसद मोहम्मद फिरदोस आलमले रौतहटको सीमावर्ती क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गर्दा समस्या भएकाले समाधान माग गरे । जिल्लामा उखु किसानका उखु थन्किएकाले गरुडाको श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन सुझाव दिए ।।
सांसद वसुमाया तामाङले रैथाने र मौलिक परिकारलाई विश्वमा चिनाउन माग गरिन् । ६० प्रतिशत जनता कृषिमा निर्भर भएकाले रैथाने र मौलिक कृषि उपज विदेशमा निर्यात गर्न र विश्व व्यापार सङ्गठनमा गरेको प्रतिबद्धता पूरा गर्न माग थियो ।
सांसद भरत गिरीले राजनीतिक दलभन्दा माथि उठेर काम गर्न सरकार लाग्नुपर्ने बताए । सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन भएकाको घरबारको व्यवस्था गर्न माग गरे ।
सांसद युवराज दुलालले मेलम्ची, इन्द्रावती बाढी पीडितको समस्या समाधानमा काम गर्न अनुरोध गरे । मेलम्ची खानेपानी आयोजनाको सामाजिक उत्थान कार्यक्रम सञ्चालनमा ल्याउन र वनदेउ चौतारा सडक जीर्ण भएकाले निर्माण गर्न माग गरे ।
सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेको घाउमा मल्हम लगाउन माग गरिन् । सांसद रजनी श्रेष्ठले खेलाडी विदेशिन बाध्य भएको उल्लेख गर्दै विद्यालयमा खेल अनिवार्य गरिनुपर्ने र खेल क्षेत्रमा राजनीति नगर्न माग गरे । सांसद रत्नकुमारी थापाले अछामका बाढी पहिरो पीडितको समस्या समाधान गरिनुपर्नेमा जोड दिइन् ।






