टोकियो । उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ ।

जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सडक यातायात अवरुद्ध भएको छ, सयौँ उडान रद्द भएका छन्, रेल सेवा प्रभावित बनेका छन् र हजारौँ घर अन्धकारमा परेका छन् ।

ADVERTISEMENT

बुधबार उत्तरपूर्वतर्फ सर्दै गरेको जाङ्मीले भारी वर्षासहित तीव्र हावा ल्याएपछि दैनिक जनजीवन अस्तव्यस्त बनेको हो । राजधानी क्षेत्रलाई सेवा दिने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङका अनुसार पाँच हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

टोकियोको मुख्य सहरी क्षेत्रमा पर्ने जेनपुकुजी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र आवश्यक परे आश्रय लिन आग्रह गरिएको छ । स्थानीय टेलिभिजनहरूले नदी किनार नजिकै माटोमिश्रित पानी सतहभन्दा माथि उठ्दै जोखिमपूर्ण अवस्थामा पुगेको दृश्य प्रसारण गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार उष्णकटिबन्धीय आँधी जाङ्मी बुधबार बिहान शिमा सहरको पूर्वी क्षेत्रमा अवस्थित थियो र उत्तरपूर्वतर्फ अघि बढिरहेको थियो । आँधीसँग अधिकतम ९० किलोमिटर प्रतिघण्टा गतिको निरन्तर हावा कायम रहेको बताइएको छ ।

एजेन्सीले पूर्वी र मध्य जापानका विभिन्न क्षेत्रमा उच्चस्तरीय बाढी चेतावनी जारी गर्दै नदी किनार र पहिरो तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने मानिसलाई सुरक्षाका लागि उच्च भूभागतर्फ जान आग्रह गरेको छ ।

मध्य जापानको ओवासे क्षेत्रमा पछिल्लो २४ घण्टामा करिब ५० सेन्टिमिटर वर्षा मापन गरिएको छ । मौसम निकायका अनुसार टोकियोसहित केही क्षेत्रमा बिहीबार बिहानसम्म थप २० सेन्टिमिटरसम्म वर्षा हुनसक्ने अनुमान गरिएको छ, जसले बाढी र भूक्षयको जोखिम अझ बढाउन सक्छ ।

जाङ्मीले यसअघि दक्षिणी टापु ओकिनावामा प्रभाव पारेको थियो, जहाँ कम्तीमा १५ जना सामान्य घाइते भएका थिए । त्यसपछि आँधी वाकायामा प्रान्ततर्फ बढ्ने क्रममा केही कमजोर बनेको जनाइएको छ ।

एक समय टाइफुनको स्तरमा पुगेको यस आँधीमा १२६ किलोमिटर प्रतिघण्टासम्मको हावा मापन गरिएको थियो । भित्री भूभागतर्फ प्रवेश गरेपछि यसको शक्ति केही घटे पनि दिनभर उष्णकटिबन्धीय आँधीको स्तर कायम रहने पूर्वानुमान गरिएको छ ।

मौसमविद्हरूले भारी वर्षा, नदीको सतह बढ्दो अवस्था र निरन्तर अस्थिर मौसमका कारण प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् ।