वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन् ।

साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ADVERTISEMENT

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकहरूलाई पूर्वतयारीबिना सार्वजनिक गरिएको थियो । यसले विशेषगरी साउदी अरेबिया र अन्य खाडी राष्ट्रहरूलाई असहज बनाएको बताइएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि प्रयास गरेका हुन् । तर रियादले अमेरिकी सैन्य विमानलाई आफ्नो भूभाग तथा हवाईमार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अपरेसन तत्कालका लागि रोक्नुपरेको हो ।

ADVERTISEMENT

एनबिसी न्युजसँग कुरा गर्ने एक साउदी स्रोतले योजनाको प्रकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रकारका सैन्य गतिविधिमा वास्तविक समयमै परिस्थिति तीव्र रूपमा बदलिन्छ भनेको थियो । साउदी अरेबियाले प्रत्यक्ष सैन्य तनावभन्दा पनि कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारेको छ ।

रियादले अमेरिका र इरानबीच सम्भावित समझदारी कायम गराउने उद्देश्यले पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई सकारात्मक रूपमा समर्थन गरिरहेको छ । खाडी क्षेत्रमा बढ्दो अस्थिरताका बीच साउदी अरेबियाले प्रत्यक्ष सैन्य संलग्नताबाट दूरी कायम राख्न खोजेको सङ्केत यस घटनाले दिएको विश्लेषकहरूले बताएका छन् ।

ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई अपरेसनबारे अग्रिम जानकारी गराइएको दाबी गरेका छन् । तर समाचारमा उद्धृत एक पश्चिम एसियाली कूटनीतिज्ञले अमेरिका स्वयंले योजना सार्वजनिक गरिसकेपछि मात्रै ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय थालेको बताए ।

कूटनीतिज्ञका अनुसार पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैलीले क्षेत्रीय साझेदारहरूलाई असहज बनाएको थियो । यद्यपि उनले यसबाट कुनै औपचारिक विवाद वा आक्रोश सिर्जना नभएको पनि उल्लेख गरेका छन् ।

ट्रम्पले प्रोजेक्ट फ्रिडम अस्थायी रूपमा रोकिएको घोषणा गरेको भोलिपल्ट इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता दिन आफू तयार रहेको घोषणा गरेको छ ।

इरानको बन्दरगाह तथा समुद्री संगठनले बिहीबार जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारिएको जनाएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार यो सूचना समुद्री सञ्चार प्रणालीमार्फत क्षेत्रका सबै जहाजहरूलाई औपचारिक रूपमा पठाइएको छ ।

इरानी समुद्री प्राधिकरणले जहाजहरूको समुद्री योग्यता सुधार गर्ने, चालक दलको सुरक्षा सुनिश्चित गर्ने तथा आपत्कालीन अवस्थामा तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ । विज्ञप्तिअनुसार आवश्यक परे जहाज मर्मतसम्बन्धी सामग्रीसमेत उपलब्ध गराइनेछ ।

इरानले विशेषगरी आफ्नो क्षेत्रीय पानी तथा लंकर क्षेत्रमा सञ्चालन गरिरहेका जहाजलाई लक्षित गर्दै नजिकका बन्दरगाहस्थित भेसल ट्राफिक सर्भिस केन्द्र वा भिएचएफ च्यानल १६ मार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।