काठमाडौं । एमाले अध्यक्ष केपी ओली फेरि रजनीतिक भेटघाट र छलफलमा सक्रिय भएका छन् । पित्तथैलीको अपरेसनपछि संक्रमण फैलिएकाले उनी केही दिनयता भेटघाट बन्द गरेर स्वास्थ्य लाभ गरिरहेका थिए । धर्मपत्नी राधिका शाक्यले ओलीसँगको भेटघाटमा पूर्णतया रोक लगाएकी थिइन् ।
ओली निष्क्रिय रहेको अवस्थामा एमालेमा राजनीतिक समीकरण व्यापक परिवर्तन भएको छ । ओलीलाई अध्यक्षाबाट हटाउने गृहकार्य भइरहेको छ । यसका लागि विष्णु पौडेल र शंकर पोखरेलबीच सहकार्य भएको छ । आफ्नै सारथी अहिले आफैंलाई हटाउने रणनीतिमा लागेको थाहा पाएपछि ओलीले फेरि सक्रियता बढाएका हुन् । उपाध्यक्ष रहेका पाैडेल र महासचिव पाेखरेल अब ओलीकाे नेतृत्वमा एमाले अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् ।
ओलीले बुधबार सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग छलफल गर्दैछन् । सुदूरपश्चिमका ११ सांसदहरूसँग उनले आज ११ बजे गुण्डुमा गहन छलफल गर्न लागेका हुन् ।
प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर अलि अगापड ओलीलाई भेटेका थिए । ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने संकेत दिएका थिए । आज सोही विषयमा छलफल हुने एमालेका एक सांसदले जानकारी दिए ।
ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सुरेन्द्र पाल दलको नेताको दौडमा छन् । विषय संसदीय दलको नेताको भए पनि ओलीले आफ्ना निकट सांसदहरूलाई एकढिक्का गर्न छलफल गर्ने रणनीति बनाएको बुझिएको छ ।






