काठमाडौं । व्यवसायी शेखर गोल्छा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । उनलाई सोमबार बन्दी प्रत्यक्षीकरण रिटमा छाड्न परमादेश दिएको थियो । तर सीआइबीले गोल्छालाई थुनामुक्त भएलगत्तै पक्राउ गरेको हो ।
प्रहरीले अर्को कसुरमा म्याद थपेर गोल्छामाथि अनुसन्धान अघि बढाएको छ । गोल्छालाई सोमबार सर्वोच्चले धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो ।
उनी सीआईबीमा पाँच लाख रुपैयाँ धरौटी बुझाएका थिए । तर उनीमाथि बीमा ऐन, २०७९ अनुसार अनुसन्धान गर्न हिरासतमै राखिएको सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले बताए ।
प्रहरीले गोल्छाविरुद्ध बीमा ऐनअनुसार कसुर भएको भन्दै पक्राउ अनुमति लिएको थियो ।
सीआईबीले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको थियो । शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोप लागेका बिचौलिया दीपक भट्टसँग नेक्सस देखिएको आरोपमा गोल्छालाई पक्राउ गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा सीआइबीको हिरासतमै रहेका बेला एफएनसिसीआईले मंगलबार नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको चुनावी प्रचारप्रसारमा गोल्छा पक्राउले ठूलो सन्नाटा छाएको छ ।






