म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।
बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए ।
म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११ दशमलव नौ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा संकलन गरी ७१० मिटर लामो पाइपलाइनबाट ल्याइने पानीलाई तीन हजार ६ सय मिटर लामो सुरुङमा हालिनेछ् । पुनः ७५० मिटर पाइपलाइनबाट ल्याइने पानीलाई ६०७ मिटर उचाइबाट पहाडभित्र रहने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने पौडेलले जानकारी दिए ।
रन अफ रिभर प्रकृतिको आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनकलाइन्ट टनेल र ७५७ मिटर पेनस्टक पाइपका संरचना रहनेछन् । विद्युत्गृहमा तीनवटा युनिट टर्वाइन रहनेछन् ।
आयोजनाबाट प्रतिघण्टा सुक्खायाममा ११७ दशमलव ८२ र बर्खायाममा २६४ दशमलव ४५ गिगावाट विद्युत् उत्पादन हुनेछ । बगर र तातोपानीको बीचमा रहेको पहाडमा बाहिरी भागबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युत्गृह बनाउन लागिएको हो ।
बगरदेखि १६ दशमलव पाँच किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउन १३२ केभी क्षमताको डबल र मल्टीसर्किट प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए ।
प्रतिमेगावाट २० करोडका दरले १३ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालन भएको हो भने इलेक्ट्रोमेकालिक र हाइड्रोमेकानिकल ठेकेदार छनोटको चरणमा रहेका आयोजना व्यवस्थापक प्रमेश थापाले बताए ।











