काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्मा सञ्चालन हुँदै आएको ‘राष्ट्रिय टिम तयारी’ कार्यक्रम बजेट अभावका कारण प्रभावित बनेको छ। २०८० माघ १५ देखि सुरु गरिएको ‘मिसन–२०२६’ अन्तर्गतको प्रशिक्षण माघ मसान्तदेखि रोकिएको बताइएको छ।
गत सोमबार सिद्धि व्यञ्जनकारसहितको टोली निरीक्षणका लागि राखेप पुगेको थियो। शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अनुपस्थितिमा मन्त्रालयको तर्फबाट उक्त टोली निरीक्षणमा पुगेको हो। निरीक्षणका क्रममा टोलीलाई प्रशिक्षण रोकिएको विषयबारे पूर्वजानकारी नभएको स्रोतले जनाएको छ।
टोलीले प्रशिक्षण नचलिरहेको जानकारी पाएपछि राखेपका सदस्य सचिव रामचरित्र मेहतासँग कारणबारे प्रश्न गर्दै तत्काल पुनः सञ्चालन गर्न निर्देशन दिएको बताइएको छ। टोलीमा राजु सिंहलगायत अन्य व्यक्तिहरूको पनि सहभागिता थियो।
मन्त्री पोखरेलले व्यञ्जनकारलाई प्रमुख सल्लाहकारको रूपमा नियुक्त गरेका छन्। पछिल्लो समय निरीक्षण, निर्देशन तथा खेलकुदसम्बन्धी निर्णय प्रक्रियामा सल्लाहकार टोलीको सक्रियता बढेको देखिएको छ। मन्त्रालयभित्र दैनिक गतिविधिदेखि योजना कार्यान्वयनसम्म सल्लाहकारहरूकै भूमिका प्रमुख रहेको स्रोतहरूको दाबी छ।
सल्लाहकार राजु सिंहका अनुसार मन्त्रालयको टोली बिहानदेखि रातिसम्म काममा खटिँदै आएको छ र ‘मिसन–२०२६’लाई निरन्तरता दिन प्रयास भइरहेको छ। उनले बजेट अभावका कारण केही समस्या देखिए पनि योजना सञ्चालनमा ल्याउने काम जारी रहेको बताए।
यता, खेलकुद मन्त्री पोखरेलको ध्यान भने शिक्षा क्षेत्रतर्फ बढी केन्द्रित भएको आरोप लाग्दै आएको छ। पदभार सम्हालेको करिब एक महिना पुग्न लाग्दा खेलकुद क्षेत्रमा उनको सक्रियता सीमित देखिएको भन्दै खेलकुदकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
राखेप निरीक्षण, केही टोलीलाई बिदाइ तथा सीमित कार्यक्रमबाहेक खेलकुद क्षेत्रमा ठोस प्रगति नभएको टिप्पणी भइरहेका छन्। मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्री आवश्यकताअनुसार छोटो समयका लागि मात्र मन्त्रालय पुग्ने गरेका छन्।
खेलकुद क्षेत्रका सरोकारवालाहरूले भने प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन, बजेट व्यवस्थापन तथा दीर्घकालीन योजना कार्यान्वयनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।








