तनहुँ। व्यास नगर अस्पतालको १५ शय्याको नयाँ भवन निर्माण सम्पन्न भएको छ। व्यास नगरपालिका–१० दुम्सीबजारमा निर्माण गरिएको उक्त भवन बुधबार औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
उद्घाटन कार्यक्रममा बैकुण्ठ न्यौपानेले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उनले अस्पताल सञ्चालनसँगै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा पनि ध्यान दिइएको जानकारी दिए।
नगरपालिकाको योजना शाखाका प्रमुख डा. राजु पौडेलका अनुसार अस्पताल भवन निर्माणमा ९६ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ। उपकरणसहित हाल कुल लागत करिब २ करोड ६६ लाख रुपैयाँ पुगेको छ। भवन निर्माणसँगै आवश्यक स्वास्थ्य उपकरण जडानको काम पनि अघि बढाइएको छ।
अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. नविना न्यौपानेले स्थानीय स्तरमै स्वास्थ्य सेवा विस्तार हुनुले बिरामीलाई ठूलो राहत पुग्ने बताएकी छन्। उनका अनुसार अब सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता क्रमशः हट्नेछ।
व्यास नगरपालिकाले पछिल्ला वर्षहरूमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित विभिन्न स्वास्थ्य संरचना विकास गर्दै आएको छ। नयाँ अस्पताल भवन सञ्चालनमा आएपछि आपतकालीन सेवा, सामान्य उपचार तथा प्राथमिक स्वास्थ्य सेवा अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले पनि अस्पताल सञ्चालनले क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरेका छन्। विशेषगरी ग्रामीण भेगका बासिन्दाका लागि नजिकै उपचार सेवा उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ छ।
नगरपालिकाका अनुसार अस्पताललाई क्रमशः पूर्ण सेवा दिने स्तरमा विकास गर्ने योजना रहेको छ। यसका लागि थप जनशक्ति व्यवस्थापन, उपकरण विस्तार र सेवा सुधारका कार्यक्रमहरू अघि बढाइने जनाइएको छ।






