काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। काठमाडौं, बैशाख ९ गते सम्पन्न उक्त सम्झौतामार्फत बीमा सेवासँग सम्बन्धित स्वास्थ्य जाँच र उपचारलाई अझ सहज, छिटो तथा सर्वसुलभ बनाउने लक्ष्य राखिएको छ।
निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनीको रूपमा विगत ३९ वर्षदेखि आकर्षक बोनसदर सहित आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको नेशनल लाइफले आफ्ना प्रस्तावकहरूका लागि आवश्यक मेडिकल रिपोर्ट उपलब्ध गराउने प्रक्रियालाई सरल बनाउन तथा आफ्ना कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरेको हो।

सम्झौतामा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार बीमालेख खरिद गर्न इच्छुक प्रस्तावकहरूले आवश्यक मेडिकल परीक्षण सहुलियत दरमा छिटो सेवा सहित प्राप्त गर्नेछन्। साथै, कम्पनीमा कार्यरत कर्मचारीहरूले स्वास्थ्य उपचार सेवामा १० प्रतिशतसम्म छुट सुविधा पाउने व्यवस्था गरिएको छ।
यस सहकार्यबाट कम्पनीसँग सम्बन्धित सबै सरोकारवालाहरूले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।







