खाँदबारी । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या भएको घटनामा संलग्न १५ जनालाई जिल्ला अदालत सङ्खुवासभाले जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिम सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला सुनाएको हो।
घटना २०८० साउन २४ गते भएको थियो। जिल्ला कारागारमा रहेका मादी नगरपालिका–५ सङ्खुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा दुवै कैदीले कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएको र सुरुमा सुरक्षाकर्मी तथा त्यसपछि अन्य कैदीबन्दीबाट सामूहिक कुटपिट हुँदा उनीहरूको मृत्यु भएको खुलेको थियो।
अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई प्रतिवादीबाट जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ।
फैसलाअनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद सजाय सुनाइएको छ।
त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीबन्दी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैदको सजाय सुनाइएको अदालतले जनाएको छ।
घटनापछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो। त्यसबेला अदालतको आदेशअनुसार प्रहरीहरूलाई धनकुटा र कैदीबन्दीहरूलाई तेह्रथुम कारागार पठाइएको थियो।
लामो न्यायिक प्रक्रियापछि अदालतले घटनामा संलग्न सबै १५ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।






