काठमाडौं । नाम, जन्ममिति, बसाइँसराइ, विवाह दर्ताजस्ता विवरण एकपटकलाई सच्याउन मिल्ने भएको छ । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली संशोधन गरी यसलाई सहज बनाएको छ ।

यसअघि नै ऐन संशोधन भए पनि नियमावली नबन्दा कार्यान्वयन हुन सकेको थिएन । सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्तालगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो ।

ADVERTISEMENT

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार यसअघि नै ऐनले व्यक्तिगत घटना दर्ता सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा प्रस्ट नहुँदा वडा कार्यालयले कार्यान्वयन गर्न सकेका थिएनन् ।

अब व्यक्तिको नाम, ठेगाना, विवाह दर्ता, सम्बन्ध विच्छेद, मृत्यु जस्ता व्यक्तिगत घटना दर्ताबारे विवरणमा त्रुटि भएको खण्डमा एकपटकलाई संशोधन गर्न पाउने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले जानकारी दिए ।

यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन बनाए पनि त्यसमा एक वर्षभित्र सच्याउनुपर्ने बन्देजका कारण असहज भएकोमा यसलाई फुकुवा गरेको उनको भनाइ छ । अब समयावधिको बन्देज नभए पनि एकपटक मात्रै संशोधन गर्न सकिनेछ ।

मन्त्रिपरिषद्ले नियमावली संशोधन गरिसकेकाले अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन शुरु हुनेछ । व्यक्तिगत घटना विवरण दर्ता गर्न वा सच्याउने काम हरेक वडा कार्यालयका वडासचिवमार्फत् गर्न सकिनेछ ।

खासगरी १४ वर्ष उमेर नपुगेर एसइई दिन नपाएका विद्यार्थीहरूले सच्याउन नमिल्ने प्रावधानका कारण समस्या झेल्दै आएका थिए । कतिपयको जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा फरक–फरक विवरण भएरसमेत समस्यामा परेका थिए । अब उनीहरूले सच्याउन पाउनेछन् । सरकारले यही साता नियमावली राजपत्रमा प्रकाशित गर्नेछ । राजपत्रमा प्रकाशित भएलगत्तै यससम्बन्धी व्यवस्था कार्यान्वयन हुनेछ ।