काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी मन्त्री कपुर टर्किस एअरलाइन्सको उडानबाट सोमबार बिहान सवा ६ बजे काठमाडौं ओर्लेका हुन् ।

यसअघि डोनाल्ड लुको ठाउँमा नियुक्त कपुर बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन हुनासाथ नेपाल आएका पहिलो उच्च तहका विदेशी पाहुना हुन् । बुधबार बिहान स्वदेश फर्कने कार्यतालिका रहेका उनले प्रधानमन्त्री बालेन, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने बताइएको छ ।

मन्त्री कपुरले मंगलबार बिहान साढे ९ बजे परराष्ट्रमन्त्री खनाल र बिहान साढे १० बजे अर्थमन्त्री वाग्लेसँग सम्बन्धित मन्त्रालयमा भेटवार्ता गर्नेछन्। भेटवार्तामा एमसीसीको कार्यान्वयनलगायत नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।

नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्रीले पाटन दरबार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

कपुर यसअघि बंगलादेशमा पनि नयाँ सरकार गठन लगत्तै पुगेका थिए । गत मार्चमा गएका कपुरले अन्य मन्त्रीहरुलाई भेटे पनि प्रधानमन्त्री तारिक रहमानलाई भने भेटेका थिएनन् ।

पहिले एमसीसी पारित गराउन पटक पटक नेपाल आएका लुले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग उनीहरुको निवासमा पुगेर भेट्ने गरेका थिए ।