काठमाडौं । सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले पसरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी नरहेको भन्दै खण्डन गरेका छन् । उनले मन्त्रीलाई आइफोन दिने विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको दाबी गरे ।

नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा आइतबार स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे । उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरे ।

‘पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो,’ उनले भने । तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट संकलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेसमेत बताए ।