काठमाडौँ। पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार रातभर चलेको इरान र अमेरिकी प्रतिनिधिमण्डलबीचको वार्ता निष्कर्षविहीन हुनुमा अमेरिकाको कडा शर्त प्रमुख कारण रहेको इरानले जनाएको छ।
इरानको फार्स न्यूज एजेन्सीले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले युद्धबाट हासिल गर्न नसकेको कुरा वार्तामार्फत प्राप्त गर्न खोजेको आरोप लगाएको छ। सो एजेन्सीका अनुसार वार्तामा अमेरिकी पक्षले कडा अडान लिएका कारण सहमति हुन नसकेको हो।
यस्तै, तस्निम न्यूज एजेन्सीले पनि अमेरिकाको “अत्यधिक माग र महत्वाकांक्षा” का कारण वार्ता असफल भएको जनाएको छ। इरानी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त एजेन्सीले अमेरिकी पक्षले इरानविरुद्ध युद्धमार्फत पनि हासिल गर्न नसकेका लक्ष्यहरू वार्ताबाट हासिल गर्न खोजेको दाबी गरेको छ।
रिपोर्टका अनुसार अमेरिकी पक्षले हर्मुज जलडमरूको मुद्दा र इरानबाट आणविक सामग्री हटाउने माग अघि सारेको थियो। तर इरानी प्रतिनिधिमण्डलले ती माग अस्वीकार गर्दै वार्तामा आफ्नो अडान कायम राखेको जनाएको छ।
इरानको राज्य–सम्बद्ध मिडिया प्रेस टिभीका अनुसार इस्लामावादमा भएको वार्ता कुनै सम्झौताको ढाँचा समेत तयार गर्न नसकी टुंगिएको हो।
इरानले केही महत्वपूर्ण विषयहरूमा अमेरिकी पक्ष लचिलो नभएको आरोप लगाउँदै विशेष गरी हर्मुज जलमार्गको आवागमन र आणविक मुद्दामा दुवै देशबीच गहिरो मतभेद रहेको जनाएको छ। यी जटिल विषयहरूमा सहमति नजुट्दा वार्ता निष्कर्षविहीन बनेको बताइएको छ।






