काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल म्युलीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।
सभामुखको सचिवालयका अनुसार भेटका क्रममा नेपाल–स्विट्जरल्याण्डबीचको ऐतिहासिक सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा आर्थिक सहयोगका विविध पक्षबारे विस्तृत छलफल भएको थियो।
सभामुख अर्यालले सन् १९५६ देखि दुई देशबीच कायम कूटनीतिक सम्बन्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गर्दै नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए। उनले यो सम्बन्ध पारस्परिक सम्मान र सहकार्यमा आधारित रहेको धारणा व्यक्त गरे।
स्विट्जरल्याण्डलाई सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासको उदाहरणका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी गराए।
सो अवसरमा उनले नेपालको सामाजिक–आर्थिक विकासमा स्वीस विकास तथा सहयोग निकायमार्फत प्राप्त सहयोगको प्रशंसा गर्दै नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा खुसी व्यक्त गरे। आगामी दिनमा विकास सहकार्य अझ विस्तार हुने विश्वास उनले व्यक्त गरे।
संसदीय सहकार्यका सन्दर्भमा सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशका संसदबीचको सम्बन्ध अझ बलियो बनाउने उल्लेख गरे। उनले सन् २०२४ मा भएको जेनेभा भ्रमणको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा दिएका छन्। साथै, संघीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठनको परम्परा निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।
भेटमा राजदूत म्युलीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपालको लोकतान्त्रिक सुदृढीकरण तथा शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्न स्विट्जरल्याण्डको सहयोग निरन्तर रहने आश्वासन दिइन्।






