काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ले आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंका अनुसार चालु आर्थिक वर्षभित्र महानगरका २० वटा सामुदायिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिनेछ।

ADVERTISEMENT

अस्पतालको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिका का कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रम सञ्चालनका लागि महानगर र अस्पतालबीच सम्झौता भइसकेको जानकारी दिइन्। कार्यक्रम आगामी शैक्षिक सत्र सुरु भएसँगै सञ्चालन हुनेछ र यसका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउनेछ।

ADVERTISEMENT

गत आर्थिक वर्षमा पनि अस्पतालले १० हजार ६६६ विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरी चश्मा तथा औषधि वितरण गरेको थियो।

अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा बहिरङ्ग र आपतकालीन सेवामार्फत् एक लाख ९३ हजार ७९८ बिरामीको आँखा परीक्षण गरेको जनाएको छ भने सोही अवधिमा १० हजार ६७४ जनाको शल्यक्रिया गरिएको थियो।

सिमरा, गोकर्णेश्वर, खोकना र भच्याकमा रहेका दृष्टिकेन्द्रमार्फत् अस्पतालले स्थानीयस्तरमै आँखा उपचार सेवा विस्तार गर्दै आएको छ। अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले पछिल्ला वर्षहरूमा बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको बताउँदै एकै दिन ८२ वटासम्म शल्यक्रिया गरिएको जानकारी दिए।

अस्पतालले आधुनिक प्रविधि भित्र्याएर सेवा विस्तार गरे पनि बिरामीसँग लिइने शुल्क नबढाइएको जनाएको छ। कार्यक्रममा नेत्र रोग विशेषज्ञ डा. प्रणव श्रेष्ठलाई वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गर्नुका साथै वार्षिक प्रतिवेदन र क्यालेण्डर सार्वजनिक गरिएको थियो।

विसं २०३० चैत २६ गते स्थापना भएको अस्पतालले नेपालमा आँखा उपचार सेवा विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको छ।