काठमाडौं । श्रममन्त्री दिपककुमार साह बर्खास्तमा परेका छन् । सत्ताको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले साहलाई आज पदमुक्त गरेका हुन् । उनी चैत १३ गते मन्त्री नियुक्त भएका थिए ।

महोत्तरी २ बाट निर्वाचित साह श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य नियुक्त गरेपछि विवादमा तानिएका थिए । त्यसपछि मन्त्रीमण्डलको अन्तिम वरीयतामा झारिएका उनलाई आज पदबाटै बर्खास्त गरिएको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले साहलाई पदबाट हटाउन प्रधानमन्त्री वालेन्द्रसमक्ष सिफारिस गरेको थियो । श्रीमतीलाई नियुक्ति दिने साहको कदम पार्टीको मूल्य मान्यता र आदर्शविपरीत रहेकाले तत्काल जिम्मेवारीमुक्त गर्न सभापति रवि लामिछानेले माग गरेका थिए । लामिछानेले स्वास्थ्यमन्त्री निशा मेहेतालाई पनि सचेत गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

साह एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरी हिरासतमा पनि पुगेका थिए । प्रधानमन्त्रीले अब श्रमसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिको तयारी गरेको बुझिएको छ ।
साह लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन गरेर आएका हुन् । उनी इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तर गरेका छन् र नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।