काठमाडौँ। मध्यपूर्वमा करिब डेढ महिनादेखि चर्किँदै गएको द्वन्द्वका बीच अमेरिका र इरानबीच मंगलबार दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको कडा समयसीमा सकिनुभन्दा केही घण्टा अगाडि भएको यस सहमतिले सम्भावित ठूलो विनाश टरेको मानिएको छ।
यद्यपि दुवै देशले यो अस्थायी सहमतिलाई आफ्नै विजयका रूपमा प्रस्तुत गरेका छन्। दीर्घकालीन समाधान भने अझै अनिश्चित छ र आगामी वार्ताबाट अन्तिम सहमति तय हुने अपेक्षा गरिएको छ।
युद्धविराम बारे अमेरिका र इजरायलको धारणा

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम घोषणा गर्दै इरानले होर्मुज जलडमरूमध्य पुनः खुला गर्न सहमत भएपछि मात्र यो सम्भव भएको बताएका छन्। उक्त जलमार्गबाट विश्वको करिब पाँचौं हिस्सा तेल ढुवानी हुने भएकाले यसको महत्व अत्यधिक छ।
उनका अनुसार पाकिस्तानका प्रधानमन्त्री र सेनाप्रमुखको मध्यस्थतामा यो सहमति भएको हो। इरानले प्रस्तुत गरेको १० बुँदे प्रस्तावलाई अमेरिकाले वार्ताका लागि उपयुक्त आधार मानेको जनाएको छ। आगामी दुई साताभित्र अन्तिम सम्झौताको रूपरेखा तयार पार्ने योजना रहेको ट्रम्पको भनाइ छ।
ट्रम्पले यसलाई “पूर्ण सफलता” को संज्ञा दिए पनि इरानले सहमति उल्लङ्घन गरेमा के गर्ने भन्नेबारे स्पष्ट जवाफ दिएका छैनन्।इजरायलले पनि युद्धविराममा सहभागी हुँदै इरानमाथिको आक्रमण रोक्ने जनाएको छ। तर लेबनान यो सहमतिमा समावेश छ वा छैन भन्ने विषयमा फरक–फरक दाबी सार्वजनिक भएका छन्।
इरानको प्रतिक्रिया
ले इरानमाथि आक्रमण रोकिएमा आफ्ना सैन्य गतिविधि पनि रोक्ने बताएका छन्। उनले युद्धविराम अवधिमा होर्मुज जलडमरूमध्यमार्फत सुरक्षित आवागमन सुनिश्चित गरिने जानकारी दिएका छन्।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले भने यो सहमतिलाई अमेरिकामाथि दबाब सिर्जना गरेर हासिल गरिएको उपलब्धि भन्दै “वाशिङ्टनको दीर्घकालीन पराजय” को रूपमा व्याख्या गरेको छ। साथै, कुनै पनि उल्लङ्घन भएमा कडा जवाफ दिने चेतावनी पनि दिएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार युद्धविराम अवधिमा जलडमरूमध्य हुँदै जाने जहाजबाट शुल्क उठाउने र त्यस रकम पुनर्निर्माणमा प्रयोग गर्ने योजना पनि बनाइएको छ।
के छन् सम्झौताका सम्भावित सर्तहरू?
इरानले प्रस्तुत गरेको १० बुँदे प्रस्तावलाई आधार बनाएर वार्ता अघि बढ्ने भए पनि अमेरिकाले १५ बुँदे प्रस्ताव अघि सारेको बताइएको छ। ती सर्तहरूमा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता, उच्चस्तरीय युरेनियम नियन्त्रण, सैन्य क्षमतामा सीमा, क्षेत्रीय समूहहरूसँगको सम्बन्ध अन्त्य र होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषय समावेश छन्।
यसका साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, जफत सम्पत्ति फुकुवा गर्ने, क्षतिपूर्ति दिने र संयुक्त राष्ट्रसंघमार्फत दीर्घकालीन शान्ति सम्झौता सुनिश्चित गर्ने विषयहरू पनि छलफलमा छन्।
इरानले यसअघि अमेरिकी प्रस्तावका केही बुँदालाई अव्यवहारिक भन्दै अस्वीकार गरेको थियो। तर अहिले दुवै पक्षले एकअर्काका प्रस्तावलाई आधार बनाएर सहमतिको बाटो खोजिरहेका छन्।
आगामी बाट
यो दुई साताको युद्धविरामलाई अन्तिम समाधानको सुरुआती चरणका रूपमा हेरिएको छ। मध्यपूर्वको स्थायित्व, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा परेको प्रभावलाई ध्यानमा राख्दै अब हुने वार्ताले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।






