काठमाडौँ । सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले सकारात्मक परिवर्तनका लागि सरकारलाई समर्थन गर्ने जनाएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद रञ्जित कर्णले संविधानले अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जनताले अपेक्षित परिणाम नपाएको बताए । उनले नीतिगत ढिलासुस्ती तथा भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखिएको उल्लेख गर्दै वैदेशिक रोजगारी बाध्यता बन्दै गएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित हुन नसकेको धारणा राखे ।
‘कांग्रेससँग अनुभव, ऊर्जा र नवप्रवर्तनको सोच छ र नयाँ सरकारसँग पनि ऊर्जा र नवप्रवर्तनको इच्छाशक्ति छ । यी दुईको संयोजनले देशलाई सही दिशा दिन सक्नेमा विश्वस्त छु,’ उनले भने ।
कर्णले सकारात्मक परिवर्तनका लागि कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पार्दै देश र लोकतन्त्रको हितमा हुने हरेक कदममा साथ दिने तथा जनहितविपरीत हुने कार्यको प्रतिवाद गर्ने बताए ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्यवृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा दिइनुले पार्ने प्रभावबारे धारणा राखे । उनीहरूले बजारको मूल्यवृद्धिको प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।
कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सावित्री पन्तले धारणा राखेका थिए ।





