काठमाडौं। राष्ट्रिय सभाको बैठकले विभिन्न तीनवटा अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको छ। सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो।
उक्त अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकमा प्रस्तुत गरेका थिए।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभामा पेस गरेका थिए।
यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबारका लागि बोलाइएको छ।





