पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्।
शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।
विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ ।
महानगरपालिकाले शनिबार बिहान करिब ३ः३० बजेदेखि डोजर प्रयोग गरेर फेवाताल आसपासका टहरा हटाउन थालेको हो। बिहानसम्ममा मात्रै महानगरले दुई दर्जनभन्दा बढी टहरा भत्काइसकेको जनाएको छ। फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।
पछिल्लो समय ताल क्षेत्र वरिपरि अव्यवस्थित रूपमा टहरा तथा संरचना निर्माण बढेपछि हटाउने कार्य तीव्र बनाइएको हो।









