काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बिचौलिया दीपक भट्ट र धितोपत्र कारोबारसँग जोडेर केही दिनयता आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल लाइफले भट्ट र उनको सेयर कारोबारमा आफ्नो संलग्नता नभएको प्रस्ट पारेको छ ।
‘केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि.का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने गलत समाचारहरु प्रकाशित भएको प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल लाइफले सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको पनि प्रस्ट पारेको छ ।
‘यस कम्पनीको दीपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबारसमेत नगरेको सम्बन्धित सवैमा जानकारीका लागि अनुरोध गर्दछौं,’ कम्पनीले भनेको छ, ‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको व्यहोरा हाम्रा सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराउन चाहन्छौं ।’





