काठमाडौं । काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि दुईवटा रुटमा रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन बस चलाउन लागेको हो ।
पहिलो रुट लगनखेलबाट पाटन अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र गङ्गालाल हुँदै बूढानीलकण्ठसम्म र दोस्रो रुट थानकोटबाट कलंकी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ । यी दुई रुटमा चारवटा विद्युतीय बस सञ्चालन हुनेछन् ।
महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बेलुका ८ बजेपछि बस नहुँदा यात्रुले महँगो भाडा तिर्नुपर्ने समस्या समाधान गर्न यो सेवा सुरू गर्न लागिएको बताइन् । सेवालाई आधुनिक, सुरक्षित र दिगो बनाउन साझेदारहरूसँग सहकार्य गर्न महानगर खुला रहेको उनको भनाइ छ ।
बस बेलुका ८ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । हरेक बिसौनीमा २० मिनेटको अन्तरमा बस आउनेछ । बसमा सीसीटीभी क्यामेरा र सुरक्षाका लागि नगर प्रहरी पनि रहनेछन् ।
देशकै संघीय राजधानीमा अहिले पनि बेलुका ७ बजेदेखि सार्वजनिक सवारीसाधन चल्दैन । संसाँझै यातायात बन्द भएपछि खासगरी अस्पताल र विमानस्थल पुग्न सर्वसाधारणले कठिनाइ भोग्दै आएका छन् ।





