काठमाडौं । प्रतिनिधिसभाको सभामुख रास्वपाका उपसभापति डिपी अर्याल हुने लगभग निश्चित भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह बालेनबीच अर्याललाई सभामुख बनाउने सहमति भइसकेको छ ।
संसद्को पहिलो दल रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभामुख रास्वपाकै तर्फबाट हुने बताए । ‘संसद्को बहुमत प्राप्त ठुलो दल भएकाले सभामुख रास्वपाकै तर्फबाट हुन्छ । को हुने भन्ने छलफलमा छौँ,’ उनले भने । रास्वपाका नेताहरूका अनुसार उपसभापति डिपी अर्याल सभामुख हुने पक्कापक्की छ ।
गृहमन्त्रीमा दाबी गरेका अर्यालले उक्त पद नपाएपछि सभामुखको जिम्मेवारी सम्हाल्न लागेका हुन् । अर्यालले आजभोलि नै दलको सम्पूर्ण जिम्मेवारी त्याग्ने तयारी गरेका छन् । सभामुख पद निष्पक्ष र स्वतन्त्र भएकाले उम्मेदवार हुनुअघि पार्टीको सबै जिम्मेवारी त्याग्ने अभ्यास छ ।
सभामुख चयनका लागि आइतबार निर्वाचन हुने तय भएको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन चैत २२ मा गर्ने निर्णय गरेको छ । निर्णयको जानकारी बिहीबार बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा गराइनेछ । त्यसपछि निर्वाचनको सूचना प्रकाशित गरिनेछ ।
संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखको निर्वाचन चैत २२ मा गर्ने निर्णय भएको र चैत २० मा उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका बनाइएको बताए ।
उपसभामुख कुन दललाई दिने भन्ने टुंगो लागिसकेको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था छ ।
स्रोतका अनुसार रास्वपा र नेकपाबीच उपसभामुखमा भित्री सहमति भइसकेको छ । रास्वपा सभापति लामिछाने र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच बलावती शर्मालाई उपसभामुख बनाइने अनौपचारिक सहमति भएको हो । बलावती नेकपा नेता देवेन्द्र पौडेलकी श्रीमती हुन् । तर नेकपा नेताहरू भने यस विषयमा कुनै छलफल नभएको बताउँछन् ।





