काठमाडौँ । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर तथा ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापामगर रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

ADVERTISEMENT

‘गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीनजना प्रतिवादीलाई थुनामा रहँदाका बखत निज हरिबहादुर थापामगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी निजहरूलाई धरौटीमा छुटाइदिन्छु, धरौटीबापतको रकम दिनुपर्छ भनी आश्वासन दिई धरौटीबापतको रकम र वकिललाई बहस खर्च भनी निजको श्रीमती मिठु मगर ९अनिता थापामगर०को खातामा रु नौ लाख जम्मा गर्न लगाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो,’ उनले भने ।

ADVERTISEMENT

हरिबहादुरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशमार्फत भनसुन गरी थुनामा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए । उनले धरौटी रकम र वकिलको बहस खर्चका नाममा रकम आवश्यक पर्ने भन्दै पीडित पक्षलाई विश्वासमा पारेका थिए ।

सोही आश्वासनका आधारमा उनले आफ्नी श्रीमती मीठुको बैंक खातामा नौ लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको आरोप छ । दुवैजनामाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

ADVERTISEMENT