काठमाडौं । पार्टी विधानविपरीत समानान्तर गतिविधि गर्दै आएको शेरबहादुर देउवा (पूर्णबहादुर खड्का–शेखर कोइराला) समूहलाई छुट्टै पार्टी खोल्न सुझाव आएको छ । मंगलबार धुम्बराहीमा बसेको देउवा समूहको अनौपचारिक भेलामा नेता जीवनबहादुर शाहीले यसरी समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी गठन गर्न सुझाव दिएका हुन् ।
शाहीले यस्तो गतिविधिले पार्टीलाई कहीँ नलैजाने भन्दै अन्योलको अवस्थामा नबस्न सुझाव दिए । ‘पार्टी संकटमा छ, यो समय एकआपसमा लडाइ झगडा गरेर बस्ने समय होइन, समानान्तर गतिविधिको श्रृंखलालाई रोकौं, पार्टी हितमा छैन । पाका र जिम्मेवार नेतृत्वबाट तत्काल संवाददहीनतालाई तोडौं, वार्ताबाट समाधान निकालौं, दुर्घटनाउन्मुख परस्थितिलाई सम्हालौं,’ उनले भनेका थिए ।
पार्टी एकता मजबुत बनाउनेतर्फ सवै लाग्न उनले सुझाव दिए । ‘मिलेर जानुको अर्को विकल्प हामीमाझ छैन, यदि मिल्न नै नसक्ने हो भने, यसरी समानान्तर गतिविधि गरी अन्योल सिर्जना गर्नुभन्दा नयाँ पार्टी गठन गरेर जाँदा हुन्छ, तर यो हितकर र प्रिय अनि उचित समधान होइन,’ उनले भने । शाहीले यसो भन्दा पूर्णबहादुर र शेखरको अनुहार मलिन बनेको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आगामी आइतबार सर्वोच्च अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधर लागेका छन् । कार्यसमितिको आधिकारिकतासम्बन्धी रिटमा सर्वोच्चले आइतबारका लागि तारिख तोकेको छ । कांग्रेस नेता बद्री पाण्डेले चैत २२ गते सर्वोच्चले कुनै आदेश नसुनाए संस्थापन पक्षसँग वार्ता गर्न सुझाव दिएका छन् ।








