काठमाडौं। इरानसँग जारी युद्धको संवेदनशील अवस्थाबीच अमेरिकी रक्षामन्त्रीसँग सम्बन्धित भनिएको एक सम्भावित लगानी प्रयासबारे अन्तर्राष्ट्रिय स्तरमा विवाद उत्पन्न भएको छ। तर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले उक्त दाबीलाई पूर्ण रूपमा असत्य र आधारहीन भन्दै खण्डन गरेको छ।
ब्रिटिश पत्रिका फाईनान्सियल टाईम्स ले सार्वजनिक गरेको समाचारअनुसार, अमेरिकी रक्षामन्त्री पीट हेगसेथसँग सम्बन्धित एक ब्रोकरले फेब्रुअरी महिनामा मोर्गान स्टानले मार्फत ब्लाकरक सँग ठूलो रकम लगानी गर्ने विषयमा छलफल गरेका थिए।
उक्त लगानी रक्षा क्षेत्रसँग सम्बन्धित iShares रक्षा औद्योगिक ETF नामक कोषमा गर्ने तयारी रहेको जनाइएको छ। यस कोषमा करिब ३.१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ।
यसमा विश्वका ठूला रक्षा कम्पनीहरू जस्तै RTX Corp, Lockheed Martin र Northrop Grumman समावेश छन्।तर उक्त लगानी अन्ततः कार्यान्वयनमा भने आएको छैन। रिपोर्टअनुसार सो कोष त्यतिबेला मोर्गन स्ट्यान्लीका ग्राहकका लागि उपलब्ध नभएकाले लगानी अघि बढ्न नसकेको हो। साथै, त्यसपछि अन्य विकल्प खोजिएको थियो वा थिएन भन्नेबारे स्पष्ट जानकारी छैन।
यस विषयमा पेन्टागनले भने कडा प्रतिक्रिया दिएको छ। पेन्टागनका प्रवक्ता सेन पार्नेलले उक्त रिपोर्टलाई “पूर्ण रूपमा बनावटी र भ्रामक” बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रक्षामन्त्री हेगसेथ वा उनका प्रतिनिधिहरूले ब्ल्याकरकसँग कुनै पनि प्रकारको लगानी प्रस्ताव नगरेको स्पष्ट पारे। “यो जनतालाई भ्रममा पार्ने उद्देश्यले फैलाइएको झूटो सूचना हो,” उनले बताएका छन्।
यसैबीच अमेरिका र इरानबीचको युद्ध पाँचौं सातामा प्रवेश गरिसकेको छ। युद्ध रोक्ने कुनै संकेत नदेखिएको अवस्थामा क्षेत्रीय तनाव झन् चर्किँदै गएको छ।अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्टका अनुसार पेन्टागनले इरानमा लामो समयसम्म स्थलगत सैन्य कारबाहीको तयारी गरिरहेको छ। यसका लागि अमेरिकी सेना मध्यपूर्व क्षेत्रमा थप परिचालन गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई कडा चेतावनी दिएका छन्। उनले रणनीतिक रूपमा महत्वपूर्ण Strait of Hormuz तत्काल नखोलेमा इरानका विद्युत् केन्द्र, तेल कुँवा तथा खर्ग आईसल्यान्डमा आक्रमण गर्ने बताएका छन्।
इरानले भने अमेरिकी तथा इजरायली आक्रमणको प्रतिकार जारी राखेको छ। यसले विश्व बजार, विशेषगरी ऊर्जा र रक्षा क्षेत्र,मा अस्थिरता थप बढाएको विश्लेषकहरू बताउँछन्।






