काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारलाई पुँजी बजारले रातो झन्डा देखाएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले गिरावट आएको छ ।
बालेन प्रधानमन्त्री भएपछि र दुई तिहाइ बहुमतको सरकार बनेपछि सेयर बजायर उच्च अंकले बढ्ने आमसर्वसाधारणको अपेक्षा थियो । कम्तीमा सकारात्मक सर्किट लाग्ने विश्वास गरिएकाे थियाे । तर आइतबारको बजारले सेयर खेलाडी र कारोबारीलाई निराश बनाइदिएको छ । चुनावमा रास्वपाले बहुमत ल्याएपछि खुलेकाे सेयर बजारमा तीनपटक सर्किट लागेर काराेबार बन्द भएकाे थियाे ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३३३ स्ट्रिप्सको तीन करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब बराबरको कारोबार भएको छ ।
आज २५५ कम्पनीको सेयर मूल्य घटेको र १० कम्पनीको मात्रै बढेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको ७१ करोड बराबरको सेयर किनबेच भएको छ । ङादी ग्रुपको ५२ करोड, सोलु हाइड्रापावरको ४८ करोड, शिवम् सिमेन्टको ४७ करोड र नेसनल हाइड्रोपावरको ४६ करोडभन्दा माथिको सेयर कारोबार भएको छ ।
आइतबार तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइन इनजी छन् । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रोनिक र भुुुजुङ हाइड्रोको सेयर मूल्य पनि झन्डै १० प्रतिशतले बढेको छ ।





