काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनको निसानामा प्रहरी कार्यालय र तिनका संरचना परेका छन् । जेनजी आन्दोलनको दुई महिनापछि बल्लतल्ल उठेको सुरक्षा फौजको मनोबल गिराउन बालेन सक्रिय भएका छन् । जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय जलाइएको थियो । काठमाडौं महानगरमा रहेका सबै प्रहरी कार्यालय जलाइयो । तर बालेनले आगो निभाउन दमकल पठाएनन् ।

अहिले तिनै बालेनले थापाथलीमा रहेको ट्राफिक प्रहरी पोस्ट भत्काउन नगर प्रहरी बललाई डोजरसहित पठाएका छन् । थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजरसहित पुगेपछि प्रहरी र महानगरबीच तनावपूर्ण स्थिति सिर्जना भयो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको भन्दै महानगरपालिकाले यहाँका अनधिकृत संरचनाहरू भत्काउनेक्रममा ट्राफिक प्रहरी पोष्ट पनि परेको हो। नगर प्रहरीसहितको टोली थापाथली पुग्दा ट्राफिक पोष्टमा भने नेपाल प्रहरीले सुरक्षा गरिरहेका थिए ।

ADVERTISEMENT

उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले उक्त कार्यालय गुठी संस्थानले २०३२ सालमा दिएको भोगाधिकार भएको भन्दै डोजर रोक्न आदेश दिए। ‘हामीलाई गुठीले भोगाधिकार दिएको ठाउँ हो, त्यसैले भत्काउन दिँदैनौं। अन्य टहरा वा अवैध संरचना के हुन्छ भन्ने कुरा अलग हो, तर कार्यालय हटाइँदैन,’ उनले भने ।
काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरले यसबारे कुनै पनि औपचारिक समन्वय नगरेको बताए। नगर प्रहरी प्रमुख राजु पाण्डेले भने मेयर शाहको आदेश कार्यान्वयन गरिरहेको बताए।

ADVERTISEMENT

महानगरले राम मन्दिर परिसरलाई सम्पदा क्षेत्रको रूपमा संरक्षण गर्ने उद्देश्यले त्यहाँको संरचना हटाउने तयारी गरेको हो। २०३० सालदेखि यहाँ ट्राफिक प्रहरी पोष्ट सञ्चालन हुँदै आएको थियो। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख नवराज अधिकारीले पाँच दशकदेखि उक्त स्थानमा ट्राफिक प्रहरी पोष्ट सञ्चालनमा रहेको बताए।

ADVERTISEMENT

महानगरपालिकाले शुक्रबारमात्रै यस क्षेत्रमा रहेका संरचनाहरू खाली गर्न सूचना जारी गरेको थियो। यसअघि १२ मंसिर २०७९ मा पनि महानगरले थापाथली क्षेत्रको बस्ती खाली गराउने प्रयास गरेको थियो । त्यतिबेला अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र महानगरपालिकाको टोलीले बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु प्रर्दशनमा उत्रिएका थिए।