खोटाङ। रोजगारीका लागि भारतको हैदरावाद पुगेका खोटाङका एक युवकको गाडीको ठक्करबाट मृत्यु भएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको उपचारका क्रममा मृत्यु भएको हो।
स्थानीयका अनुसार पैसा कमाउने उद्देश्यले हैदरावाद पुगेको एक सातामै परियारले ज्यान गुमाएका हुन्। उनी गाउँकै सन्तोष परियार र कृष्ण परियारसँगै होटलमा काम गर्ने भन्दै चैत २ गते भारततर्फ गएका थिए।
चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई सेकन्दरावादस्थित गान्धी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा चैत ११ गते बिहान उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
आर्थिक रूपमा कमजोर अवस्थामा रहेका तिलक र उनका साथीहरू निर्वाचन प्रहरीको रूपमा काम गरेर फर्किएपछि रोजगारीको खोजीमा भारत गएका थिए। तिलक घरका दुई छोरामध्ये कान्छा हुन् भने उनका पाँच दिदीबहिनी छन्। श्रीमतीसँग अलग्गिएर बसिरहेका उनका पाँच वर्षका एक छोरा छन्।
उनी हैदरावादतर्फ गएको दिन नै घरमा आएको हावाहुरीले घरसमेत क्षतिग्रस्त बनाएको बताइएको छ। रोजगारीको आशामा ठेकेदारको पछि लागेर भारत पुगेका उनीजस्ता खोटेहाङ गाउँपालिकाका दर्जनौं युवाहरू रोजगारीका लागि हैदरावाद जानेआउने गरेका छन्।
हाल अस्पतालमा रहेको तिलकको शव बुझेर दाहसंस्कार गर्न समेत परिवारलाई कठिनाइ भइरहेको छ। पोष्टमार्टम तथा प्रहरी प्रक्रिया पूरा गर्न करिब ६० हजार भारतीय रुपैयाँ लाग्ने बताइएको र सो रकम जुटाउन समस्या भइरहेको आफन्तले बताएका छन्।









