नवलपरासी पूर्व। अविरल वर्षाका कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भइरहेका बेला भारी वर्षाले सडक हिलो र चिप्लो बनेपछि राजमार्ग अवरुद्ध भएको हो।शुक्रबारदेखि नै प्रभावित बनेको सवारी आवागमन आज बिहानदेखि थप बिग्रिएको छ। वर्षाका कारण सडक दुवैतर्फ पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

यसैबीच, नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। सडक योजनाले सूचना जारी गर्दै शुक्रबारदेखि ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा यस्ता सवारी रोकिने जनाएको छ।
ठूला मालवाहक सवारीलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ। यात्रुवाहक तथा आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने बताइएको छ।
सडक विस्तार र मर्मत भइरहेको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक अत्यन्त चिल्लो हुँदा ठूला सवारी चिप्लिने तथा अड्किने समस्या बढेपछि यस्तो निर्णय गरिएको हो।
दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारीलाई सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो। तर, उक्त राजमार्ग पनि सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा अवरुद्ध भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।






