काठमाडौं। एमाले नेतृ शान्ता चौधरीको अचार उद्योगमा आगलागी भएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित भर्खरै उद्घाटन गरिएको ‘शान्ताको अचार’ शाखामा आगलागी भएको हो ।
शुक्रबार उद्घाटन भएको शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ ।आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई ।

सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु,’ उनले लेखेकी छन् ।
शान्ता चौधरीले दाङमा करिब पाँच वर्षअघि अचार उद्योग खोलेकी थिइन् । जसको वार्षिक आम्दानी ३५ लाख हुने गरेको छ । चौधरीले ३० जना श्रमिकलाई रोजगार उपलब्ध गराएकी छन् । अचार स्वदेशका विभिन्न सहरका साथै विदेशमा समेत निर्यात हुने गरेको छ ।

ADVERTISEMENT