काठमाडौं । सत्तारुढ एमाले र कांग्रेसको पछिल्लो कार्यशैलीप्रति कांग्रेस महामन्त्री गगन थापा असन्तुष्ट देखिएका छन् । पछिल्लो केही समयदेखि सार्वजनिक कार्यक्रममा कमै देखिने र सुनिने गगनले बहुमत छ भनेर जे पनि निर्णय गर्न नहुने बताएका छन् ।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचनमा बुधबार उनले संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक हुने भए पनि त्यो जनताले स्वीकार गर्छन् कि गर्दैनन्, वैध हुन्छ कि हुँदैन भनेर सोच्नुपर्ने बताए ।

‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ थापाले भने, ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संख्या भएपछि सरकार बन्छ। बहुमत भएपछि निर्णय गर्ने कुरा वैधानिक हुन्छ। तर आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ।’

ADVERTISEMENT

प्रजातन्त्र चल्नका लागि वैधानिक मात्र नभई वैध पनि हुनुपर्ने उनले बताए। ‘हामीले गर्ने निर्णय आमनागरिकले स्वीकार्छ कि स्वीकार्दैन त्यो हेर्नुपर्छ, त्यो बुझ्नुपर्छ,’ उनले भने। कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक र वैध रहेको पनि उनले दाबी गरे ।

ADVERTISEMENT

पछिल्लो समय कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरमाथि पदअनुसारको आचरण नगरेको भन्दै प्रश्न उठाउँदै पदमुक्त गर्ने तयारी गरेका छन् । यही सेरोफेरोमा गगनको असन्तुष्टि सार्वजनिक भएको हो ।

ADVERTISEMENT

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उपसभामुखलाई हठात हटाउने प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरे पनि गगन र विश्वप्रकाश दुवैले गरेका छैनन् । यस्तै, शेखर कोइरालाले पनि हस्ताक्षर गरेका छैनन् ।