पोखरा।  पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव नेपालमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा समेत देखिन थालेको छ। पोखरामा सुरु भएको २१ औं नेपाल खुला अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपमा अपेक्षाकृत कम विदेशी खेलाडी सहभागी भएपछि यसको प्रत्यक्ष असर परेको देखिएको हो।

नेपाल हवाइ खेलकुद संस्थाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा प्रारम्भिक रूपमा १५ देशका करिब ९० खेलाडीले नाम दर्ता गराएका थिए। तर, युद्धका कारण उडान अवरुद्ध हुनुका साथै सुरक्षा चिन्ताका कारण अन्ततः ५ देशका ६३ खेलाडी मात्र प्रतिस्पर्धामा उत्रिएका छन्।

ADVERTISEMENT

आयोजक संस्थाका अध्यक्ष अनिल केसीका अनुसार पश्चिम एसियामा बढ्दो अस्थिरताले धेरै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका कारण खेलाडीहरू नेपाल आउन नसकेका हुन्। उनले सुरक्षा जोखिमका कारण पनि धेरै खेलाडीले सहभागिता रद्द गरेको बताए। यद्यपि, सहभागी संख्या अपेक्षाभन्दा कम भए पनि प्रतियोगिता उत्साहजनक रूपमा सञ्चालन भइरहेको उनले उल्लेख गरे।

ADVERTISEMENT

हाल प्रतियोगितामा नेपालसहित भारत, चीन, फ्रान्स र जर्मनीका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ६३ पाइलटमध्ये १० जना महिला खेलाडी छन्। प्रतियोगिता विश्व हवाइ खेलकुद महासंघ (एफएआई) को श्रेणी–२ अन्तर्गत सञ्चालन भइरहेको छ, जसमा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको अंकसमेत प्राप्त गर्नेछन्।

ADVERTISEMENT

यो प्रतियोगिता ‘एक्युरेसी’ विधामा आधारित रहेको छ, जसमा पाइलटहरूले निश्चित लक्ष्य विन्दुमा सकेसम्म नजिक अवतरण गर्नुपर्ने हुन्छ। सराङकोटबाट उडान भरेर फेवाताल किनारस्थित खपौंदीमा राखिएको लक्ष्य बिन्दुमा अवतरण गरिन्छ। प्रत्येक खेलाडीले ६ पटकसम्म प्रयास गर्ने अवसर पाउँछन् र सबैभन्दा कम दूरीमा अवतरण गर्ने खेलाडी विजेता घोषित हुन्छ।

पोखरामा यसअघि पनि अन्तर्राष्ट्रिय स्तरका प्याराग्लाइडिङ प्रतियोगिता सफलतापूर्वक आयोजना भइसकेका छन्। कोरोना महामारी र त्यसपछिका दुर्घटनाले केही समय अवरोध सिर्जना गरे पनि पछिल्लो समय आवश्यक मापदण्ड परिमार्जनपछि पुनः प्रतियोगिता सञ्चालनमा आएको हो।

आयोजकहरूले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा प्रि–वर्ल्ड कप तथा वर्ल्ड कपस्तरका प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएका छन्। उनीहरूका अनुसार पोखरा मात्र नभई नेपालका अन्य हिमाली तथा पहाडी क्षेत्रहरू पनि प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए। उनले प्याराग्लाइडिङलाई पोखराको पर्यटनको मेरुदण्डका रूपमा उल्लेख गर्दै यसको सुरक्षित र व्यवस्थित सञ्चालनमा जोड दिए।

त्यस्तै, पर्यटन क्षेत्रका सरोकारवालाहरूले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालको साहसिक पर्यटनलाई विश्वसामु प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। प्रतियोगितामा पुरुष, महिला र टिम गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ, जसका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।